काठमाडौं, माघ १६ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको दुई दिने ‘गजल महोत्सव’ बिहीबार सकिएको छ। देशभरका गजलकारहरु सहभागी उक्त महोत्सव दुईदिजसम्म भएको कार्यक्रमको समीक्षासँगै ‘गजल लेखन र दिशा’बारे घोषणापत्र जारी गर्दै बिहीबार समापन गरिएको हो।
महोत्सवको समीक्षा गर्दै विन्दु शर्माले महोत्सवबाट कर्मसँग आफ्नो चेतनालाई जोड्न सक्ने खुबी देखिएको बताइन्। ‘विशेष गरी सुदुरपश्चिमका गजलकारहरुमा मैले यस्तो खुबी देखेँ,’ उनले भनिन्, ‘तरन्नुमको सेसनमा भने अग्रज स्रष्टाहरूको सन्तोषजनक प्रस्तुति देखिएन। त्यसैले एउटाबाहेक कुनै पनि गजलमा निराशा देखिएन।’
काठमाडौंकै स्रष्टाहरूबाट सोचेजस्तो प्रतिफल नपाएको उनले बताइन्। ‘प्रदेशबाट आउनुभएका स्रष्टाबाट पूर्ण सन्तुष्ट भएँ,’ उनले भनिन्, ‘किनभने राजधानीबाट प्रतिनिधित्व भएका गजलभन्दा तपाइँका गजल धेरै उत्कृष्ट प्रमाणित भए।’ प्रज्ञा प्रतिष्ठानले २२ सालदेखि गर्दै आएको कविता महोत्सवको लगानीलाई पहिलोपटक गरिएको गजल महोत्सवले नाजवाफ बनाइदिएको उनले बताइन्।
समीक्षक डा. भोजराज घिमिरेले पहिलो पटक भएको गजल महोत्सवलाई शृङ्खलावद्ध रुपमा अगाडि बढाएउन प्रतिष्ठानलाई सुझाव दिए। ‘महोत्सव आयोजना गर्नको लागि खर्च जुटाउन गाह्रो छैन,’ उनले भने, ‘त्यसैले गजल महोत्सवले निरन्तरता पाउनुपर्छ । यसको लागि मैले मेरो एक महिनाको पेन्सन दिन्छु पनि भनेको छु। राजधानीमा मात्र होइन मोफसलमा पनि आयोजना गर्नुपर्छ।’
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले महोत्सव सोचेभन्दा राम्रो भएको बताए। ‘यति धेरै गजलकारहरूको अपेक्षालाई कसरी सम्बोधन गर्न सकिएला भन्ने चिन्ता थियो,’ उनले भने, ‘यसैअनुरुप यो महोत्सवको आयोजना गरियो। जे सोचेका थियौं, त्योभन्दा निकै उच्चकोटीको गजल लेखिंदै रहेछ भन्ने कुरा यही महोत्सवबाट थाहा पाइयो।’
कार्यक्रम संयोजक एवम् प्रतिष्ठानका काव्य विभाग प्रमुख डा हेमराज पाण्डेले भने बजेटले भ्याएसम्म गजल महोत्सवलाई निरन्तरता दिने योजना बनाएको बताए। राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले पहिलो पटक आयोजना गरेको कार्यक्रमबाटै सकारात्मक प्रतिफल आएकोले यसलाई निरन्तरता दिँदै जाने वचन व्यक्त गरेका छन्।
‘यो कार्यक्रममा योजना आयोगका प्रतिनिधिलाई पनि सहभागी बनाउनु पर्ने थियो किनकि बजेटलाई कहाँ लगाउँदा कस्तो प्रतिफल पाइन्छ भन्ने कुरा वहाँहरूले प्रत्यक्ष बुझ्न जरुरी छ,’ उनले भने, ‘र, पनि हामी यो कार्यक्रम निरन्तर गर्नेछौं। अर्कोपटक कार्यक्रममा आउँदा एउटा गजल त मैले पनि लेखेर ल्याउँछु।’
यसपटक युवा परिषद प्रतिष्ठानको ‘सारथि’ मात्रै बनेर सहयोग गरे पनि अर्को पटक आउँदा सह–आयोजक नै बनेर आउने उनले बताए। (घाेषणापत्र हेर्नुहाेस्ः)
‘गजल महोत्सव ऐतिहासिक’
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रज्ञा–प्रतिष्ठानमा भएको दुईदिने गजल महोत्सव ऐतिहासिक भएको बताए। ‘युवाहरूमा देख्न पाएको यो क्षमता मभित्र भएन वा मैले देखिनँ, अब त्यसतर्फ लाग्न सकिन्छ भन्ने रहर लागेको छ,’ उनले भने, ‘त्यसैले यो कार्यक्रम ऐतिहासिक भएको मैले महसुस गरेको छु।’
घोषणापत्रले संकल्प गरेको कुरा पुरा गर्नतर्फ अग्रसर हुन पनि मन्त्री विश्वकर्माले अनुरोध गरे। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि कला साहित्यको विशेष योगदान रहेकोले यसको संरक्षणमा सरकारले जिम्मेवारी निभाउनुपर्ने उनले बताए।