धनगढी, माघ १७ । नेकपा केन्द्रीय समिति बैठकमा सहभागी हुन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारका लागि तय बैठक स्थगित भएको छ।
सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारका लागि बोलाइएको बैठकमा एफएम रेडियो र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई विषयगत समितिमा लैजाने कार्यसूची थियो। तर आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं हिँडेपछि बैठक स्थगित गरिएको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नआउने भएपछि बैठक स्थगित गरिएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए। धामीका अनुसार, अर्को बैठक आगामी आइतबारका लागि डाकिएको छ।
बैठक स्थगित गर्ने संसद् सचिवालयको निर्णयप्रति कांग्रेसले भने असन्तुष्टि जनाएको छ।