काठमाण्डौं, माघ १७ । गृह मन्त्रालयले नेपाल प्रहरीका एकजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई महिलामाथि यौन शोषण गरेको आरोपमा निलम्बन गरेको छ।
मन्त्रालयले तत्कालीन अवस्थामा संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी सौरभ राणालाई निलम्बन गरेको हो। धरानकी एक महिलाको उजुरीमाथि प्रारम्भिक अनुसन्धानपछि राणालाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव केदारनाथ शर्माले जानकारी दिए।
राणामाथि लागेको आरोपबारे विस्तृत रुपमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर निर्देशन दिइएको शर्माको भनाइ छ। गत कात्तिकमा धरानकी एक महिलाले राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन्।
ती महिलाले गृहमन्त्री रामबहादुर थापा (बादल), गृहसचिव प्रेमकुमार राईलगायतलाई भेटेर एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको गुनासो सुनाएकी थिइन्।