श्रीनगर, माघ १७ । भारतको जम्मु–श्रीनगर राष्ट्रिय राजमार्गमा शुक्रबार बिहानै एउटा ट्रकमा आएका हतियारधारी समूहमाथि गरिएको सुरक्षा कारवाहीमा तीन जना मारिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार नगरकोटाको बन टोल प्लाजामा चेकजाँचका लागि ट्रकलाई रोकिएको थियो। सुरक्षाकर्मीले घेराबन्दी गर्दै तलासी अभियान सुरु गरेका थिए।
डिजिपी दिलबाग सिंहका अनुसार ट्रकमा तीनदेखि चार जना हतियारधारी लुकेका थिए। चेकिङ्गका क्रममा उनीहरु गोली प्रहार गर्दै भागेका थिए।
जम्मुका आइजी मुकेश सिंहले मुठभेडमा हतियारधारी समूहका तीन जना मारिएको बताए। यस क्रममा प्रहरीका एक जवानसमेत घाइते भएको बताइएको छ।
टोल प्लाजा नजिकै दुई पटक विस्फोटको आवाजसमेत सुनिएको थियो।
हतियारधारीहरु कुन समूहका सदस्य हुन् भन्ने प्रष्ट भइसकेको छैन। यद्यपि सुरक्षा अधिकारीहरुले उनीहरु नयाँ सशस्त्र समूहको सदस्य रहेको आशंका गरेका छन्। उनीहरु श्रीनगर जाने उद्देश्यले उक्त ट्रकमा चढेको बताइन्छ।
केही दिन अघि कठुआ, हिरानगर बोर्डरबाट हतियारधारी समूहको घुसपैठ भएको आशङ्का गरिएको छ।
मुठभेडका क्रममा सुरक्षाका दृष्टिकोणले राजमार्गमा सवारी आवागमन बन्द गरिएको थियो। प्रशासनले नगरकोटाका सबै विद्यालय बन्द गर्न आदेश दिएको थियो।
२५ जनवरीमा दक्षिण कश्मीरको पुलवामा जिल्लाको अवंतिपोरा क्षेत्रमा सुरक्षाबल र हतियारधारी समूहबीच मुठभेड भएको थियो। मुठभेडमा दुई हतियारधारी मारिएका थिए।
त्यसअघि जनवरी २१ मा अवंतिपोरामै भएको अर्को मुठभेडमा दुई हतियारधारी मारिएका थिए। यस क्रममा सेनाका एक जवान र जम्मु–कश्मीर पुलिसका एक स्पेशल पुलिस अफिसरको समेत मृत्यु भएको थियो।
२० जनवरीमा शोपियां जिल्लामा भएको इन्काउन्टरमा हिजबुल मुजाहिद्दीनका तीन सदस्य मारिएका थिए। एजेन्सी