इटहरी, माघ १७ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएक एक बिरामीमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ।
उच्च ज्वरो र घाँटीको दुखाइले उपचार गर्न प्रतिष्ठानको आकस्मिक कक्षमा बसेका बिरामीलाई कोरोना आशंकामा काठमाडौंको टेकुस्थित राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरिएको हो।
प्रतिष्ठानका सहप्रवक्ता असोक अयरका अनुसार तीन दिनदेखि उच्च ज्वरो र घाँटी दुखेर ती बिरामी उपचार गराउन प्रतिष्ठानमा आएका थिए। उपचारको क्रममा आएका ती व्यक्ति कोरियाबाट पाँच दिनअघि मात्र नेपाल आएको खुलेको छ।
बिरामी आफैँले नै कोरियाबाट फर्किएको बताएका उनले बताए। कोरियाबाट आएका ती व्यक्तिलाई कोरोनाको आंशका भएपछि प्रतिष्ठाननको मेडिसिन विभागलाई खबर गरेको थियो। बिरामी आफैँले आफूलाई कोरोना भाइरस संक्रमण भएको आंशका गरेपछि काठमाडौंको टेकु रिफर गरेको अयरले बताए।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि र्यापिड रेस्पोन्स कमिटी गठन गरिएको छ। भाइरसको संक्रमण फैलिन नदिनका लागि प्रतिष्ठानमा पूर्वतयारी एवं सर्तकता अपनाउन अस्पताल निर्देशकको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो।