माघ १८ । चिनियाँ कम्पनी बाइटडान्सले तयार गरेको टिकटकको लोकप्रियता विश्वभर बढिरहँदा गुगलले पनि आफ्नै टिकटक ल्याएको छ। छोटो भिडियो बनाएर सेयर गरिने सोसल नेटवर्किङ सर्भिस टिकटक अहिले विश्वभर निकै लोकप्रिय बनिरहेका बेला गुगलले पनि टिकटक ल्याएको हो।
विश्वकै सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले पनि आफ्नै ‘टिकटक’ ल्याएको हो। गुगलले ल्याएको उक्त भिडियो मेकिंग तथा सेयरिङ एपको नाम (टांगी) हो। गुगलको एरिया १२० टिमले उक्त एपको निर्माण गरेको हो।
गुगलका अनुसार यो एक सोशल भिडियो शेयरिंग एप हो जसमा छोटो आकारका भिडियो शेयर गर्न सकिन्छ। खासगरी कुनै पनि जटिल कामलाई घरमै कसरी सजिलोसँग गर्न सकिन्छ भन्ने विषयका जानकारीमूलक भिडियोहरु यो एपमा सेयर गर्न सकिने कम्पनीले जनाएको छ।
टिकटकमा जस्तै टांगीमा पनि प्रयोगकर्ताहले एक मिनेटसम्मको भिडियो बनाएर पोष्ट गर्न सक्दछन्। टिकटकको उपयोग खासगरी मनोरञ्जनका लागि हुने गरेकोमा आफ्नो एपलाई चाहिँ ज्ञानमूलक उद्देश्यका लागि तयार गरिएको गुगलको दावी छ।
यो एपमा भिडियोका लागि पाक शिक्षा, लाइफ स्टाइल, आर्ट, फेसन, सौन्दर्यलगायतका विभिन्न विधा समेटिएका छन।