पर्सा, माघ १८। वीरगञ्जको लिंकरोडस्थित मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ। वीरगञ्ज ८ स्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा गएराति ११ बजेतिर आगलागी भएको हो।
आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले बताए। उनका अनुसार महत्वपूर्ण कागजात र रकम भने सुरक्षित छ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको र यकिन विवरण संकलन भइरहेको जानकारी दिए।
सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। आगलागीको कारण खुलेको छैन। तर, विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।