काठमाण्डौं, माघ १८ । नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै भारतमा सुविधा लिन खोज्ने एक गिरोहलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ।
भारतको मध्यप्रदेश राज्यको उज्जैनमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको हो। नेपालको सरकारी नम्बर प्लेट भएको सवारी साधन लिएर पुगेका उनीहरु सरकारी सुविधामा ‘सर्किट हाउस’ मा बस्दै आएका थिए। उनीहरुले सरकारी सुविधाका तीन वटा कोठा बुक गराएको बताइन्छ।
सर्किट हाउसका कर्मचारीलाई शंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोलीले उनीहरुसँग प्रारम्भिक सोधपुछ गर्दा आफू नेपाल सरकारको प्रतिनिधि रहेको बताएका थिए।
प्रहरीले उनीहरुसँग आधिकारिक कागजात तथा परिचय पत्र माग गर्दा उनीहरुले भिजिटिङ कार्ड देखाएका थिए। प्रहरीले गम्भीर रुपमा अनुसन्धान गर्न थालेपछि उनीहरुले केही परिचय पत्रसमेत देखाएको बताइन्छ। ती परिचयपत्र नक्कली पाइएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार महावीरप्रसाद तोरडी, प्रमोद शर्मा र कुलदीप शर्मालाई पक्राउ गरिएको हो। तीमध्ये महावीरले आफू नेपालका उपराष्ट्रपतिको सांस्कृतिक सल्लाहकार भएको बताएका थिए भने प्रमोदले आफू पूर्व सल्लाहकार रहेको बताएका थिए। कुलदीपले भने आफूलाई निजी सचिवका रुपमा परिचय दिएका थिए।
अनुसन्धानका क्रममा ती तीनैजना भारतीय नागरिक रहेको खुलेको छ। उनीहरु राजस्थानका बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपाल सरकारसँग उनीहरुको कुनै सम्बन्ध नरहेको समेत खुलासा भएको छ।
प्रहरीले उनीहरुले प्रयोग गरेको नेपालको सरकारी नम्बर प्लेट भएको कारसमेत नियन्त्रणमा लिएको छ । उक्त कार नेपालकै हो या भारतीय कारमा नेपालको सरकारी नम्बरप्लेट लगाइएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीसँगको प्रारम्भिक बयानमा उनीहरुले महाकाल मन्दिरमा ‘भीभीआइपी दर्शन सुविधा’ प्राप्त गर्नका लागि उच्च ओहोदा देखाउन यसरी झुटो परिचय दिएको बताएका छन्। उनीहरुले उज्जैन आउनु अघि यस्तै सुविधा लिएर नलखेडास्थित बगलामुखी माताको दर्शन गरेको प्रहरीसमक्ष बताएका छन्।
प्रहरीले उनीहरुमाथि विभिन्न धारा अन्तर्गत कारवाहीको माग गर्दै मुद्दा दायर गरेको छ। उनीहरुले झुटो परिचय दिएर कसैलाई ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ।