चितवन, माघ १८ । नेपाली समाजमा पनि जन्मदिन मनाउने कुरा सामान्य बनिसकेको छ। पश्चिमा मुलुकको प्रभावले गर्दा जन्मदिनमा केक काट्ने, नजिकका साथीभाइ तथा आफन्तलाई खानपानमा सरिक गराउने जस्ता गतिविधि गर्ने प्रचलन पनि बढ्दो छ।
तर, कसैकसैले भने त्यसरी हुने खर्चलाई सामाजिक क्षेत्रमा लगाउने गरेका उदाहरण पनि भेटिन्छन्। तीमध्ये युवा उद्यमी तथा सामाजिक अभियन्ता जोन कँडेल एक हुन्। भरतपुर ४ लंकू निवासी कँडेलले आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न ठाउँमा सहयोग गरिसकेका छन्। माघ १८ गते परेको जन्मदिनको अवसरमा शनिबार पनि उनले परोपकारी कार्यमा सहयोग गरे।
‘सामाजिक काम गर्न यति नै रकम छुट्याउनुपर्छ भन्ने हुँदैन,’ उनी भन्छन्, ‘आफ्नो मन खुसीले सहयोग गर्ने हो।’ अचम्म त के छ भने उनी वर्षभरी साप्ताहिकरुपमा ब्रत बस्छन् र उक्त दिन एकसय रुपैयाँ बचत गर्छन्। यसरी महिनामा चारसय रुपैयाँ जम्मा गरेर सामाजिक क्षेत्रमा खर्च गर्छन्।
ब्रत बसेरै जम्मा गरेको रकम बराबर पाँच हजार दुईसय रुपैयाँ उनले आफ्नो जन्मदिनको अवसर पारेर शनिबार भरतपुरमा रहेको मानवसेवा आश्रमलाई सहयोगस्वरुप प्रदान गरेका हुन्। त्यतिमात्र होइन, नारायणढस्थित नगर वन रोडमा रहेको ‘हाम्रो घरमा’ आश्रित बालबालिकाका लागि एकछाक खाद्यान्न पनि सहयोग गरे।
नवलपरासीको देवचुलीस्थित भीमसेन हाइस्कुल एलुम्नाई एसोसिएसनले स्थापना गरेको छात्रवृत्ति कोषका लागि पाँच हजार एक सय रुपैयाँ सहयोग गरे। भरतपुर ४ लंकूस्थित दि ग्रीनपार्क रेस्टुरेन्ट सञ्चालन गर्दै आएका उनले वर्षभरी बिक्री हुने चुरोटकाे समेत हिसाब राख्ने गरेका छन्।
‘थाेपा-थाेपा मिलेर सागर बन्छ’ भनेझैँ वर्षभरी बिक्री भएका चुरोट प्रतिखिल्ली दुई रुपैयाँको दरले जम्मा गरेर संकलन भएको रकम पनि सामाजिक क्षेत्रमै खर्च गर्दै आएका छन्। ‘चुरोट बेचेर आएको नाफालाई भने स्वास्थ्य र शिक्षासँग सम्बन्धित क्षेत्रमा सहयोग गर्ने गरेको छु,’ उनी भन्छन्।
गतवर्ष ‘मितेरी फाउण्डेशन’ नामक सामाजिक संस्थालाई सहयोग गरेका उनले यसपटक भने कालिकोट जिल्लामा निर्माणाधीन रासकोट सामुदायिक अस्पताललाई सहयोग गर्ने योजना बनाएका छन्। उनका अनुसार दि ग्रीनपार्क रेष्टुरेन्टबाट यसवर्ष १३ हजार ७४४ खिल्ली चुरोट बिक्री गरेर आएको रकमबाट प्रतिखिल्ली दुई रुपैयाँका दरले २७ हजार ४८८ रुपैयाँ नगद संकलन भएको थियो।
सञ्चारकर्मी रवि लामिछानेद्वारा स्थापित ‘रवि लामिछाने फाउन्डेसन’को नेतृत्वमा निर्माण हुँदै गरेको उक्त अस्पताललाई सहयोग गर्दा कर्णाली क्षेत्रका विपन्न नागरिकले उपचार पाउने हुँदा यसपटक उक्त अस्पतालको निर्माणमा थोरै भए पनि सहयोग गर्ने प्रयास गरिएको उनको भनाइ छ। कँडेल वातावरण सरसफाइ तथा संरक्षणको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्।