काठमाण्डौं, माघ १९ । ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै उच्च पुगेको छ। शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो।
खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ। यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो।
बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोरले दिउँसै पसल बन्द गर्न थालेका छन्। ‘किसानसँग सस्तोमा किनेर कोल्ड रुममा राखेको फ्रोजन मासुसमेत ठूला व्यापारीले किलोको तीन सय ६० रुपैयाँ भन्न थालेका छन्। यसरी कति दिन टिक्न सकिएला,’ एक कोल्ड स्टोर व्यवसायीले भने।
असोजदेखि मंसिरसम्म ब्राइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हुलेका थिएनन्। त्यतिखेर लागत मूल्य ने दुई सय २० को हाराहारीमा थियो।
पछिल्लो समय ब्रोइलर कुखुरालाई ३० दिन पालिसकेलगत्तै रोग व्याधीबाट मर्ने दर अत्यधिक हुँदा किसान निरन्तर घाटामा गइरहेका थिए।