काठमाडौं, माघ १९। नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन्।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन्।
“सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ। एमसीसी जुनसुकै हालतमा पास हुन्छ, अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ,’ किरातीले भने।
बास्कोटाको अभिव्यक्ति आत्मसमर्पणवादी भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए। आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा किरातीले आफूहरुले एमसीसीबारे प्रश्नको सामना गर्नु परिरहेको पनि उनले बताए ?।
गत बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले एमसीसीका बारेमा धेरै भ्रम फैलाइएको भन्दै संसदबाट पारित हुने बताएका थिए । कतिपयले एमसीसी पारित भयो भने नेपालमा अमेरिकी सेनाले बेस क्याम्प राख्छ भन्नेसम्मका भ्रम फैलाइएको भन्दै बास्कोटाले अमेरिकाको शक्तिको कुरा गरेका थिए ।