काठमाण्डौं, माघ १९ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यले आधारभूत स्वास्थ्य उपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरनाजस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिएकाछन्।
बैठकको शून्य समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार संविधानको मौलक हकमा व्यवस्था भए पनि जनताले निःशुल्क भनिएका औषधि सहजै पाउन नसकेको गुनासो गरे। उनले भने, “स्वास्थ्य र शिक्षा सहज हुनुपर्नेमा निजी र सरकारी विद्यालयका नाममा विभेद छ।”
काङ्ग्रेसकै रमेशजङ्ग रायमाझीले कोरना भाइसर रोक्न सरकारले चासो दिनुपर्ने बताए। नेकपाकी डा. विमला राई पौडेलले ग्यासको हिटरले भारतीय पर्यटनको मृत्युजस्ता समस्यालाई गम्भीरतापूर्वक लिई जनताको जीउधनको सुरक्षामा ध्यान दिन माग गरे।
नेकपाका युटोल तामाङले मन्त्रिपरिषद्मा महिलाको सङ्ख्या घटाइएकामा चिन्ता प्रकट गरे। राजपाका वृषेशचन्द्र लालले सीमा र राष्ट्रिय सुरक्षाबारे सरकार गम्भीर हुनुपर्ने बताए। नेकपाकी मीना बुढाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषय शिक्षक अभाव भएकामा चिन्ता प्रकट गरे। समाजवादी फोरमकी प्रमिला कुमारीले नागरिकता विधेयक छिटो ल्याउन माग गरे। नेकपाका शेरबहादुर कुँवरले सुदुरपश्चिमा रहेको छाउपडी प्रथा अन्त्य गराउन आग्रह गरे। रासस