काठमाण्डौं, माघ २० । बजारमा मासु मात्र महँगिएको छैन। आकासिएको प्याजको मूल्य केही घटिरहेको बेला अहिले लसुनको मूल्य आकासिएको छ। नेपालमा मागअनुसारको उत्पादन नहुने हुँदा चीनबाट आयात हुने लसुन प्रतिकेजी ५ सय रुपैयाँ पुगेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चिनियाँ लसुनको मूल्य बजारमा ५०० रूपैयाँ प्रतिकेजी पुगेको छ। तत्काल लसुनको मूल्य घट्ने सम्भावना देखिँदैन। लसुनको प्रतिकेजी ५०० रूपैयाँ मूल्य अहिलेसम्मकै उच्च हो।
दुई साताअघिसम्म लसुनको मूल्य प्रतिकेजी २५० देखि ३०० रूपैयाँ आसपास रहेको थियो।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन्। नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको व्यवसायीको भनाइ छ।
लगातारको हिमपातका कारण बन्द रहँदै आएको रसुवा नाका चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण थप केही दिनका लागि बन्द गरिएको छ।