काठमाण्डौं, माघ २० । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लबले ब्रिगेड व्वाइज क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ। सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पाजित गरेको हो।
जावलाखेलका लागि सुजित बुढाथोकिको गोल निर्णायक बन्यो। उनले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए।
आजको खेलमा जावलाखेलका खेलाडीले ‘फेयर गेम’ खेलेका छन्। यसलाई रेफ्रिले दिने कार्डका आधारमा हेर्न सकिन्छ। ब्रिगेडका दुई खेलाडीले पहेंलो कार्ड पाउँदा जावदाखेलका खेलाडीलाई रेफ्रिले कार्ड देखाएनन्।
जीतसँगै जावलाखेल लिगको सातौं स्थानका उक्लिएको छ। जावलाखेलले १० मा ४ जीत ३ खेल बराबरी र ३ खेलमा पराजित हुँदा १५ अंकसहित सातौं स्थानमा रहेको छ। पराजित ब्रिगेडलाई भने रेलिगेसनको पिरलो छ। उसले अहिलेसम्म १० खेलमा जम्मा ८ अंक जोडेको छ।
ब्रिगेडभन्दा तलका टोलीको जम्मा ४ अंकको फरक छ। पुछारमा रहेको सरस्वती युवा क्लबको मात्रै ४ अंक रहेको छ।
लिगको शीर्ष स्थानमा भने २३ अंक रहेको विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब रहेको छ भने उसलाई मछिन्द्र क्लब २२ अंकसहित पछ्याइरहेको छ।