काठमाण्डौं, माघ २० । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ।
नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनमा सक्रिय भाग लिने बताए।
त्रिविमा २०६५ सालयता सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन। विसं २०७३ मा २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो। अनेरास्ववियुका संयोजक ऐन महरले निर्धारित मितिमा नै स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठनले प्रतिबद्धता जनाएकोले निर्वाचन हुने बताए।
त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको छ। त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले चाँडै नै त्रिविले निर्वाचनका सम्बन्धमा सबै विद्यार्थीसँग छलफल गरेर कार्यतालिका सार्वजनिक गर्ने बताए।
यसअघि त्रिविले फागुन १४ गते निर्वाचन मिति मानी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ। स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीअनुरूप हुनेछ।




