काठमाण्डौं, माघ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका एक युवकलाइृ विमानस्थलबाटै पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ बस्नेतगाउँ घर भएका २८ वर्षीय हेमनसिंह बस्नेत छन्। सीआईबीका अनुसार उनी जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त हुन्।
हरिकृष्ण नामले समेत चिनिने गरेका बस्नेत केही समय अगाडिसम्म स्काभेटर चालक थिए। धादिङको बस्नेत गाउँमै बाटो खन्ने क्रममा उनले एक युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ।
उनले गत जेठ १४ गते धादिङको गजुरी गाउँपालिका–८ हलेदेखोला घर भएकी एक १६ वर्षीया युवतीमाथि घरमै गएर बलात्कार गरेका थिए।
घटनापछि स्थानीयले प्रहरीमा उजुरी दिएपनि बस्नेत भने फरार भएका थिए । लामो समय भारतमा रहेका उनी वैदेशिक रोजगारीका लागि कुवेतको भिसा लागेपछि नेपाल फर्किएका थिए।
१६ वर्षीया युवतीको बलात्कार गरेर फरार रहेका बस्नेत वैदेशिक रोजगारीमा जान लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउका लागि सीआईबीलाई अनुरोध गरेको थियो।
धादिङ प्रहरीको अनुरोधअनुसार सीआईबीले बस्नेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएको छ।