काठमाडाैँ, माघ २० । नेपाल आयल निगमले एलपी ग्याँसको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो।
यससँगै ग्याँसको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ। निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलमा भने प्रतिलिटर १ रुपैयाँका दरले घटाएको छ। समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ।
हवाई इन्धनको मूल्य भने यथावत नै राखेको निगमले जनाएकाे छ। पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिए। निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।
भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ। मूल्य समायोजन पश्चात भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ। वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ।