माघ २१।नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीमाथि ठगीको आरोप लागेको छ। सांसद चौधरीले आफूहरुबाट २०७४ सालमा तीन लाख र पाँच लाख रुपैयाँ गरी कुल ८ लाख रुपैयाँ लिएको भए पनि हाल आएर सो रकम फिर्ता दिन आनाकानी गरेको आरोपसहित कांग्रेस कार्यकर्ता लिलाबहादुर थापा र कृष्णराज पाण्डेले संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी निवेदन दिएका हुन्।
निवदेक मध्ये हाल दाङको गढवा गाउँपालिका कांग्रेस समितिको उपसभापति रहेका कृष्ण पाण्डेले एभरेष्ट बैंकमा रहेको सांसद चौधरीको खातामा २०७४ अशोज २६ गते तीन लाख रुपैयाँ जम्मा गराएको दाबी गरेका छन्। यस्तै कांग्रेस क्रियाशिल सदस्य रहेका लिलाबहादुर थापाले २०७४ अशोज १७ गते सांसद चौधरीकी छोरीको लक्ष्मी बैंकमा रहेको खातामा पाँच लाख रुपैयाँ रोखेको दाबी गर्दै निवेदन दिएका हुन्।
पटक–पटक पैसा फिर्ता माग गर्दा पनि आफूहरुले नपाएपछि न्यायका लागि सम्भव भएसम्मका सबै निकायमा जाने क्रममा संसद सचिवालयमा निवेदन दिएको कृष्ण पाण्डेले बताएका छन्। उनले भने, ‘हामीले पार्टीको ढोका पनि ढकढक्याएका हौँ। संसद सचिवालयमा गयौँ । अब हामी अदालत पनि जाँदै छौँ।’
लेनदेन विवादको कुरा संसद सचिवालयको क्षेत्राधिकारमा पर्दैन। तर आफूहरुले न्यायका लागि सम्भावित सबै उपाय अपनाउने क्रममा निवेदन दिएको पाण्डेले बताएका छन्।तर सांसद चौधरीले भने आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको र त्यसकै शिलशिलामा आफूमाथि झुटो आरोप लगाएर संसद सचिवालयमा निवेदन परेको बताएकी छन्।