काठमाण्डौं, माघ २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन विभागको विस्तार गरेको छ। माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठक लगत्तै नेकपाको सबैभन्दा शक्तिशाली मानिने संगठन विभाग विस्तार गरिएको हो।
हालैको केन्द्रीय कमिटी बैठकबाटै उपाध्यक्ष बनेका वामदेव गौतम प्रमुख रहेको संगठन विभागमा सातै प्रदेशका इन्चार्जलाई थपेर १५ सदस्यीय बनाइएको हो। वामदेव प्रमुख रहेको विभागको उपप्रमुखमा कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा छन्।
यसअघि यो विभागमा गत गत असोज २९ गतेको सचिवालय बैठकबाट तीनजना थपिएका थिए। त्यसबेला बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, नेताहरु भानुभक्त ढकाल र हरिराज अधिकारी थपिएका थिए।
यही माघ १९ गते बसेको सचिवालय बैठकले अन्य ६ वटा प्रदेशका इञ्चार्ज पनि थपिएका हुन्। थपिएकाहरुमा प्रदेश ५ का इञ्चार्ज शङ्कर पोखरेल र गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सुदुरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल, प्रदेश १ का इञ्चार्ज भीम आचार्य र प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डल छन्।
संगठन विभागमा भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किराती, जगप्रसाद शर्मा, नेता मातृका यादव, खगराज भट्ट र रेखा शर्मा पनि सदस्य बनेका छन्।