जनकपुरधाम, माघ २२ । प्रदेश २ का प्रदेश सांसदले अब ल्यापटप पाउने भएका छन्। प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले प्रदेशसभा सचिवालयले सबै सांसदलाई ल्यापटप प्रदान गर्ने भएको हो।
ल्यापटप आइसकेको र केही दिनभित्रै सबैलाई वितरण गरिने सभामुख सरोजकुमार यादवले जानकारी दिए।
प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको उनले बताए।
‘एउटा विधेयक कितावजस्तो हुन्छ। कम्तीमा १५० प्रति फोटोकाँपी गर्नुपर्छ,’ सभामुख यादवले भने, ‘कागज, मसी र प्रिन्टर गरी वर्षको ५ करोड त्यसमै खर्च भइरहेको अवस्था छ । त्यो खर्चलाई रोक्न पनि ल्यापटप दिन लागेका छौं।’
सभामुख यादवका अनुसार अब सरकारको खर्चको बचत हुने र सबै सांसदले विधेयकमाथि लागेको कुरादेखि संशोधनसम्म ल्यापटपमै लेखेर सिधै इमेल गर्नेछन्।
कुनै पनि विधेयक कागजी रुपमा अध्ययन गर्दै आएका प्रदेश २ का सांसदले अब ल्यापटपमै अध्ययन गर्ने भएका छन्। कागज, मसीको खर्चका साथै समयको बचत पनि गर्ने उद्देश्यले ल्यापटप वितरण गर्न लागिएको उनले बताए।
यस्तै, प्रदेश २ मा १०७ जना सांसद छन्। तीमध्ये धेरैलाई ल्यापटप चलाउन आउँदैन्। यद्यपि सभामुख यादवले चलाउन नआउनेलाई उनीहरुको स्वकीय सचिवले सिकाउने बताएका छन्।