काठमाण्डौं, माघ २२ । एक दिवसीय क्रिकेटमा डेब्यु गरेका सुशन भारीले आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दा ओमानले नेपाललाई १ सय९८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिलो ब्यटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन मात्रै बनाएको हो। ओमानविरुद्ध नेपालका भारीले कसिलो बलिङ गर्दै ३ विकेट लिँदा ओमान १९७ रनमा सिमिति भएको थियो।
ओमानका लागि मोहम्मद नादेमले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टोलीको ब्याटिङ लाइन सम्हालेका थिए। उनले अर्धशतक सहित ६९ रन बनाए। ५७ रनमा ५ विकेट गुमाएको ओमानका लागि नादेम र सन्दीप गौडले ६० रनको साझेदारी पारी खेले।
ओमानका सन्दीप गौडले ३३ रन, नासेम खुसीले २८ रन, कप्तान जिसान मक्सुदले २० रन र अक्विब इल्यासले १६ रनको योगदान गरेका थिए। भारीसँगै नेपालका तीव्र गतिका बलर करण केसीले ४ विकेट लिए।
केसीले ९ ओभर बलिङ गर्दै ४ विकेट लिएर ४७ रन खर्चिएका थिए। लिग २ को पहिलो खेलमा ओमानविरुद्ध नेपालका लागि भारीले उत्कृष्ट ३ विकेट सहित १४ रन खर्चिँदा स्टार स्पिनर सन्दीप लामिछाने भने सबैभन्दा महंगा सावित भए।
लामिछानेले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ४५ रन खर्चिएका थिए। भारीसँगै एक दिवसीय क्रिकेटमा डेब्यु गरेका अविनाश बोहरा भने विकेट विहीन रहे।
१ सय ९८ रनको मध्यम लक्ष्य पाएको नेपाली टोली केही बेरमा जवाफी ब्याटिङ गर्दैछ। लामो समयपछि त्रिवि मैदानमा अन्तर्राष्ट्रिय खेल हुँदा दर्शकको सहभागिता उत्साहजनक छ।