काठमाण्डौं, माघ २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमका कर्मचारीलाई राजनीति नगर्न चेतावनी दिएका छन्।
टेलिकमको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले कार्यालयमा बसेर हाजिर नगर्न कर्मचारीहरुलाई चेतावनी दिए।
‘धेरै प्राविधिक र इन्जिनियरहरु विकट पहाड पुगेर टावर ठड्याउनुहुन्छ, उहाँहरुलाई धन्यवाद छ, बधाई छ,’ मन्त्री बाँस्कोटाले भने, ‘केही कर्मचारीहरु भने यहाँ कार्यालयमा बसेर राजनीति गर्नुहुन्छ। यहाँ राजनीति नगर्नुहोस्, राजनीति नै गर्ने भए पार्टी कार्यालयमा जानुहोस्।’
मन्त्री बास्कोटाले टेलिकमलाई सरकारले आफ्नै सन्तानसरह माया गरेको पनि बताए। ‘टेलिमक एक फुलवारी हो। यसलाई गोडमेल आवश्यक पर्छ,’ मन्त्री बाँस्कोटाले भने।
मन्त्री बाँस्कोटाले कम्पनीलाई माया गरेपछि सबै कर्मचारीको तलब बढ्ने उल्लेख गर्दै कामप्रति बफादार हुन पनि कर्मचारीसँग आग्रह गरे।