अछाम, माघ २२ । अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामीको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले वडाध्यक्ष धामीको मृत्यु प्रकरणमा संलग्नको आरोपमा ७ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरु स्थानीय व्यक्ति भएको बताइए पनि प्रहरीले नाम भने सार्वजनिक गरेको छैन।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८ देखि ९ बजेसम्म सँगै रहेका ७ जनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको जानकारी दिए।
मंगलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए। ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित थिए।
स्थानीय बासिन्दा र धामीका आफन्तहरुले उनको हत्या भएको भन्दै छानबिनका लागि माग गरेपछि प्रहरीको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको छ। मंगलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
घटनास्थलमा काठमाडौंदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा छजना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीको भनाइ छ।
यस्तै अछामका प्रजिअ भोजराज श्रेष्ठ र प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेका बताइएको छ।