काठमाण्डौं, माघ २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्द्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले स्रोत, साधन र जनशक्ति अभाव रहेको बताएका हुन्।
भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि जनशक्ति र स्रोत, साधन मात्रै नभएर बजेट पनि न्यून रहेको उनले बताए। ‘भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि स्रोतहरूको अभाव छ। हामी २०(२५ करोडको कुरा गरिरहेका छौँ। यो अन्त्यन्तै न्यून बजेट हो’, उनले भने।
मन्त्री भट्टराईले नेपालको पर्यटन प्रवद्र्धन र भ्रमणवर्षलाई प्रभावकारी बनाउन जनशक्ति थप्दै स्रोत साधन बढाउने कुरामा जोड दिने प्रतिवद्धता समेत जनाए।
मन्त्री भट्टराईले नारायणहिटीमा कुनै होटल नबन्ने स्पष्ट पारे। संग्राहलयको मापदण्डमा नारायणहिटी रहने उल्लेख गर्दै भट्टराईले भने, ‘नारायणहिटी दरबारमा कुनै पनि होटल बन्दैन यो संग्राहलयकै रूपमा रहनेछ। संग्राहलयको मापदण्डभित्र रहनेछ। होटल बनाउने योजना पनि छैन। बन्दा पनि बन्दैन्। बरु कफी सपसम्म बन्न सक्छ। अरु कुनै व्यापारिक प्रयोजनका लागि संरचना बन्दैन।’
उनले कारोना भाइरसका कारण चीनबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउन सम्भव नहुने भएकाले अन्य वैकल्पिक बजारको खोजी भएको बताए। चीनबाट यो वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भए पनि कोरोना भाइरसले पूर्ति हुने सम्भावना नरहेको र नीजि क्षेत्रहरूसँग छलफल गरी बैकल्पिक बजार खोज्न योजना बनिरहेको उनले बताए।
बैठकमा मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलेभन्दा धेरै सुधार आएको बताए। तराई क्षेत्रमा रहेका राजविराज विमास्थलबाहेक अन्य विमानस्थलहरूमा रात्रिकालीन उडान सुरु भएको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमास्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछिल्लो कार्यप्रगति राम्रो रहेको बताए।