काठमाण्डौं, माघ २२ । समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाइरसभन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यसतर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मुल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताए।
उनले भ्रष्टाचार, वेरोजगारी र चर्को बजारमुल्य प्रति व्यंग्य गर्दै उनले बैठकमै कविता वाचन गरी सरकारलाई व्यंग्य गरे।
“नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि
अनायास देख्दैछन् दण्डहिनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगिसक्यो,
शैशव कालमै सम्मृद्धिलाई कोरोना भाइरसले खाइसक्यो।
समानता स्वतन्त्र शिकिस्त छन् , लोकतन्त्र पनि थलो ल परिसक्यो
संघीयता, गणतन्त्र छटपटिदै छन् यहाँ,
समावेशीताको पारा झरिसक्यो
आफ्नै भूमिमा नागरिकता दिदैँनौ ठानेर विदेशी
के अपराध भो जन्मनु भइ जनजाति र मधेशी ?
गास, बाँस ,कपास माग्दा कुरा मात्रै चिल्ला
जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?
हिड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ
सत्ता टिकाउन ,विदेशी डलर पाउन आफै किन बिक्छौ ?
यहाँसम्म कि सरकार,
यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौ ?
सरकार,
न्याय र समानताको नारा लगाउँछौ बेसरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,
जनता किन भोकै छ् गर्यौ कहिलेही खोज ?
देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,
के पाए युवाले सिवाय तिरस्कार र अपमान
तिमिलाई छुट कसरी ? गर्न वाइडवडी र एनसेल काण्ड
पुर्खाको पौरख गुमाउदै हसाइ पुरै ब्रह्माण्ड ?
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिसक्यो
के गर्यौ सरकार ? कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो !