चीन, माघ २३ । चीन नवजात शिशुलाई नोवेल कोरोना भाइरसको संक्रमण भएको छ। जन्मिएको ३० घण्टाभित्रै ती शिशुमा कोरोनाको संक्रमण भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
अहिलेसम्म सबैभन्दा कम उमेरका व्यक्तिमा कोरोनाको संक्रमण भएको घटना हो यो। वुहानको स्थानीय अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका हुन्। वुहानबाटै गएको डिसेम्बरमा नोवेल कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो।
शिशुकी आमाको परीक्षण गरिएको थियो सुत्केरी हुनु पूर्व। उनमा संक्रमण देखिएको थियो। तर शिशुमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन।
अहिलेसम्म सीमित बालबालिकामा मात्रै नोवेल कोरोना भाइरसको संक्रमण भएको छ। हालसम्म नोवेल कोरोना भाइरसका कारण ५६३ जनाको मृत्यु भएको छ। २८ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले नवजात शिशुमा नोवेल कोरोनाको संक्रमण भएको जानकारी बुधबार मात्रै दिएको हो। जन्मिदा ३.२५ किलो रहेका शिशु हाल स्थिर अवस्थामा रहेको र उनलाई डाक्टरको निगरानीमा रोखिएको छ।
चीन बाहिर २५ देशका १९१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चीन बाहिर अहिलेसम्म दुईजनाको मृत्यु भएको छ।