काठमाण्डौं, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक जारी छ। जसमा काँग्रेस निकट कानुन व्यवसायीको पनि सहभागिता रहेको छ।
ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि काँग्रेस नेताहरु र कानुन व्यवसायी छलफलमा जुटेका हुन्।
सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार काँग्रस नेताहरु बिहान १० बजेबाट पार्टी कार्यालय सानेपामा छलफलमा जुटेका छन्। बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित छ।
भानुले भने, ‘अहिले पार्टी कार्यालयमा उपसभापतिविरुद्ध दायर मुद्दाका विषयमा पार्टीका शीर्ष नेता र कानुन व्यवसायीबीच छलफल भइरहेको छ।’ अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी करार गर्दै काँग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
२०६६मा माधव नेपालको नेतृत्वको सरकार हुँदा प्रधानमन्त्री निवास विस्तार गर्न मन्त्रिपरिषद्मा ७ बुँदे प्रस्ताव गएको थियो।
तत्कालीन भौतिक योजना तथा निर्माण सचिव दीप बस्न्यातले प्रस्ताव अघि बढाएका थिए भने भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले स्वीकृति दिएर मन्त्रिपरिषद्मा पुर्याए।
सोही प्रस्तावका आधारमा टेकेर मोही नै नभएका १२ जना मोही कायम भएर उनीहरूले १३ रोपनी बढी सरकारी जग्गा पाएका थिए। त्यही आधारमा टेकेर गच्छदारमाथि मुद्दा दायर भएको छ।