अमेरिका, माघ २३ । हलिउड अभिनेता किर्क डगलसको १ सय ३ वर्षको उमेरमा निधन भएको छ।
‘स्पार्टकस’ र ‘पाथ्स अफ् ग्लोरी’ का अभिनेता तथा माइकल डगलसका पिता किर्क सन् १९४० मा निकै चर्चित भएका थिए।
उनले आफ्नो करिअरमा झण्डै सय वटा फिल्ममा अभिनय गरे। तर पछि हृदयाघातका कारण उनले चलचित्र उद्योग नै छोड्नु परेकाे थियाे।
अस्कर विजेता अभिनेता तथा चलचित्र निर्माता माइकल डगलसले किर्क डगलसको निधनको पुष्टि गर्दै फेसबुकमा लेखेका छन्, ‘किर्क डगलसको १ सय ३ वर्षको उमेरमा निधन भएको छ। विश्वको लागि उनी एक लेजेण्ड अभिनेता थिए र सधैँ रहिरहनेछन्।’
स्टेज र पर्दाका अभिनेता किर्क कौशलपूर्ण फरक–फरक चरित्रमा अभिनय गर्न माहिर थिए। सन् १९१६ मा न्यु योर्कमा जन्मिएका किर्क सन् १९६० मा ‘स्पार्टकस’ मा प्रमुख पात्रको अभिनयका कारण चर्चामा आएका थिए।
सन् १९४९ मा अस्करका लागि मनोनित भएका किर्कले आफ्नो करियरलाई हलिउडको चलचित्रकै ‘स्वर्ण युग’ को रुपमा चिनाउन सफल भएका थिए।
उनको निधनलाई लिएर विश्वभरका अभिनेता तथा कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन्।