काठमाण्डौं, माघ २३ । आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनौठो संशय र प्रश्न उब्जाएको बताएका छन्।
बालुवाटारमा सरकारी जग्गा प्रकरणमा मुछिएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव विष्णु पौडेललाई मुद्दा नलगाइएकोतर्फ संकेत गर्दै पौडेलले लालझण्डा ओढेपछि जुनसुकै खत माफ हुन्छ भन्ने भनाइ पूरा हुने होइन? भन्दै प्रश्न गरेका छन्।
पौडेलले फेसबुकमा आफ्नो प्रतिक्रिया राख्दै भनेका छन्, ‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ। लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा हुने त होइन?’
बालुवाटारमा विष्णुका छोरा नवीन पौडेलको नाममा जग्गा छ। तर उक्त जग्गा सरकारलाई फिर्ता गर्न बयानका क्रममा भनेको भन्दै उनीहरूलाई अख्तियारले मुद्दा लगाएको छैन।