काठमाण्डौ, माघ २३ । सम्पत्ति शुद्धीकरकण अनुसन्धान विभागले बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका उच्च तहका व्यक्तिको सम्पत्तिबारे अनुसन्धान थालेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा हिनामिना प्रकरणमा एक उपप्रधानमन्त्रीसहित तीन जना पूर्वमन्त्री र उच्च तहका प्रशासकसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेपछि सम्पत्ति शुद्धीकरकण विभागले बिहीबारदेखि उनीहरुको सम्पत्तिबारे अनुसन्धान थालेको हो।
विभागका अनुसार यो प्रकरणमा जोडिएका पूर्वमन्त्री, सचिव र व्यवसायमा संलग्न ठूला घरानाका व्यक्तिको अनुसन्धान थालिएको हो। विभागले यस अघिदेखि नै पूर्वसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति छानबिन गरिरहेको थियो।
अख्तियारले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, पूर्व निर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसचिवहरु दिनेशहरि अधिकारी, सहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँ लगायत १ सय ७५ जनाविरुद्ध मुद्धा दायर गरेको छ।