मुम्बई, माघ २४ । रजनीकान्तको स्टारडम देख्दा जुन फिल्मले पनि कमाइ गर्छन् भन्ने हुन्छ। उनले खेलेका फिल्मले लगानीभन्दा बढी कमाउने गर्छन्।
हालै रिलिज भएको फिल्म ‘दरबार’ ले भने लगानी उठाउन सकेन। लगानी नउठान नसकेपछि फिल्म विवादमा परेको छ।
यो फिल्मका वितरकहरुले मेकर ए आर मुरुगादाससँग रिफन्डको माग गरेका छन्। रजनीकान्तको यो फिल्मबाट धेरै नै घाटा परेको वितरकहरुको भनाइ छ। वितरकहरुले सुपरस्टार रजनीकान्त, लायका प्रोडक्सन र ए आर मुरुगादासविरुद्ध उजुरी हालेर मुआब्जा दाबी गरेका छन्।
केही दिन पहिले केही वितरकहरु रजनीकान्तको घरमा पुगेका थिए। तर त्यहाँ सेक्युरिटीले फिर्ता पठाइदिए। एक वितरकले आफूहरु भोक हडतालमा जाने बताएका थिए।
फिल्ममेकर मुरुगादासलाई धम्की पनि आउन थालेको छ। उनले धम्की आएको भन्दै प्रहरीको सुरक्षाको माग गरेका छन्। उनले आफ्नो घरबाहिर प्रहरी राख्न समेत अनुरोध गरेका छन्।
रजनीकान्तको ‘दरबार’ १३० करोड भारुमा बनेको थियो। यसमध्ये आधा बजेट रजनीकान्तको पारिश्रमिक थियो। यो फिल्ममा रजनीकान्त २७ वर्षपछि प्रहरीको भूमिकामा देखिएका थिए।
जनवरीमा रिलिज भएको यो फिल्मले सोचेजस्तो कमाइ गर्न सकेको थिएन।