माघ, २४ । बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमै पराजित भएका छन्।
बिहिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग र रियल मड्रिड रियल सोसिडाडसंग पराजित भएको हो।
बार्सिलोना एट्लेटिको बिल्बाओसंग १–० ले पराजित भयो। बार्सा लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने सपना क्वार्टरफाईनलमै सिमित बन्यो।
खेलको अतिरिक्त समयमा सर्जियो बुस्केटको आत्मघाति गोल बार्सिलोनालाई प्रतियोगिताबाट बाहिर पुर्याउन पर्याप्त रह्यो।
अर्को खेलमा रियल मड्रिड भने रियल सोसिडाडसंग ४–३ गोल अन्तरले पराजित बन्यो।
सोसिडाडका मार्टिन ओडिगार्डले माउ क्लबबिरुद्व गोल गर्दै रियल मड्रिडलाई क्वार्टरफाईनलबाटै घर फर्काए।
दुई बर्षको लोनमा रहेका नर्वेजियन मिडफिल्डरको पहिलो गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए।
अलेक्जेण्डर ईसाकले सोसिडाडको अग्रता दोब्बर बनाउने काम गरे। दुई मिनेपछि अर्को गोल थप्दै ईसाकले सोसिडाडलाई ३–० को स्थितीमा पुर्याएका थिए।
मार्सेलो र रोड्रिग्वोले मड्रिड क्लबका लागि गोल गर्दै पुनरागमनको आश देखाएका थिए। मिकेल मोरिनोले सोसिडाडको तर्फबाट एक गोल थपेका थिए। खेलको अन्तिममा नाचोले गोल गर्दै रियलको हार अन्तर घटाउने काम गरे।
जिनेदिन जिदानको टिम ला लिगाको शीर्ष स्थानमा छ। मड्रिड क्लबले २२ खेलमा मात्र १३ गोल मात्र ब्यहोरेको छ। र कोपा डेल रेको क्वार्टरफाईनलमा मड्रिड क्लबले ४ गोल ब्यहोर्न पुग्यो। मड्रिड क्लब २१ खेलमा अपराजित थियो।
सन् २०१० पछि पहिलो पटक कोपा डेल रेको फाईनल बार्सिलोना र रियल मड्रिड बिनाको हुने भएको छ। एजेन्सी