काठमाण्डौं, माघ २४ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले बलियो प्रतिद्वन्द्वी संकटा क्लबविरुद्ध साँघुरो जित निकालेको छ। सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले साविकको उपविजेता संकटालाई १-० गोल अन्तरले पराजित गरेको हो।
एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अनन्तले गोल गरेका थिए। उनले खेलको ६१ औं मिनेटमा निर्णायक गोल गरे।
खेलमा थ्री स्टारका बिक्रम लामा म्यान अफ दि म्याच चुनिए। जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ। थ्री स्टारले ११ खेलमा २० अंक जोडेको छ।
पराजित संकटा ११ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।