काठमाण्डौ, माघ २४ । नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ। शुक्रबार बिहान बसेको संसदीय दलको बैठकको निर्णय अनुसार कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारेका छन्। कांग्रेसका सांसद आफ्नो सिटबाट उठेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो।
सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका छन्। त्यसपछि सभामुखले कांग्रेस सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । विश्वकर्माले अख्तियारको दुरुपयोग अनुसन्धान आयोगले आफ्नै अख्तियारको दुरुपयोग गरेको आरोप लगाए।
कसुरदारहरुले उन्मुक्ति पाउने, निर्दोषहरुले थुनिनुपर्ने अवस्था भएको उनले बताए। ‘किड्नी चोर्ने डाक्टरले चार वर्षपछि आएर अब म उक्त किड्नी फिर्ता गर्छु भन्ने डाक्टरलाई कारबाही गर्ने कि नगर्ने ?’ उनले प्रश्न गरे।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित कांग्रेसले बिहीबार पनि संसद अवरुद्ध गरेको थियो। गच्छदारलाई मुद्दा लगाइन प्रतिशोष भएकाले संसद र सडकबाट प्रतिवाद गर्ने कांग्रेसले निर्णय गरेको छ।
सभामुख सापकोटाले भने अदालतमा प्रवेश गरिसकेको विषय संसदको कार्यक्षेत्रभित्र नपर्ने भएकोले विरोध स्थगन गर्न आग्रह गरेका छन्। तर कांग्रेस सांसदहरुले उभिएर विरोध कायमै राखेका छन्। सदनको प्रभावकारिता बढाउन छलफलबाटै निकास निकाल्न उनले आग्रह गरेका थिए।
२० मिनेटसम्म बसेको बैठकमा सभामुख सापकोटाले पटक पटक कांग्रेसका सांसदलाई बस्न आग्रह गरे पनि अस्वीकार गरे।
बिहान बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसका नेतालाई छानीछानी मुद्दा लगाउने अख्तियारको कदम प्रतिशोधपूर्ण भएको बताएका थिए।
‘कांग्रेसका नेताहरुलाई छानीछानी मुद्दा लगाउने अख्यितारको प्रतिशोधपूर्ण कदम हो। यसका विरद्ध कांग्रेसले कडा ढंगले प्रतिवाद गर्छ। आजको संसद बैठक पनि अवरुद्ध पार्नुस्, अरु माध्यमबाट पनि विरोध गर्नुहोस् ’ देउवाले बैठकमा निर्देशन दिएका थिए।
बैठकमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदार पनि बोलेका थिए। उनले अख्तियारलाई ओली आयोग बनाइएको बताएका थिए।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ओली आयोगका रुपमा रुपान्तरण भएको छ। ओलीको इच्छा र निर्देशन अनुसार अख्तियारले काम गरिरहेको छ। त्यसको शिकार अहिले म भएँ भोलि अरु पनि पर्न सक्छन्’ बैठकमा गच्छदारले भनेका थिए।
कांग्रेसले सदन अवरोधमा साथ दिन राजपा र समाजवादी पार्टीलाई पनि औपचारिक अनौपचारिक रुपमा आग्रह गरेको छ।