काठमाण्डौं, माघ २४ । बाग्लुङ, महोत्तरी, कञ्चनपुर र बैतडीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
बाग्लुङ, तमानखोला गाउँपालिका ३ बुलबुलेस्थित सडकमा म्याग्दीको मालिकाबाट जन्ती लिएर जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार म्याग्दी मालिका गाउँपालिका २ जेम बस्ने २१ वर्षीया रिता पुन समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
साथै दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय स्वास्थ्य चौकी बोङ्गादोभानमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङतर्फ पठाइएको छ।
महोत्तरी, पिपरा गाउँपालिका ५ सहोडवास्थित सडकमा ज १ ख ७५८ नम्बरको बसले ज ७ प ८५४५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक पिपरा गाउँपालिका ५ बस्ने १७ वर्षीय राजेन्द्र शर्माको घट्नास्थलमै मृत्यु भएको छ। फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।
कञ्चनपुर, भिमदत्त नगरपालिका १९ बागफाँटास्थित सडकमा म २ प ७३५८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री ८० वर्षीया तुलसी देवी चन्दको महाकाली अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बैतडी, दशरथचन्द नगरपालिका २ हुसिल्लामोडस्थित सडकमा बा ६ प ९१९९ नम्बरको कार अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका ४ शाहिलेक बस्ने २८ वर्षीय हरीश तिरुवाको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको छ।
साथै दुर्घटनामा घाइते भएका कारमा सवार दार्चुला शैल्यशिखर नगरपालिका ९ बस्ने ३६ वर्षीय डिकर देब पाण्डेलाई थप उपचारको लागि धनगढीतर्फ पठाइएको छ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।