काठमाण्डौं, माघ २४ । नेपालले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ।
मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन्।
कोरोना भाइरससँग लडिरहेको चीनलाई साथ दिन मास्क सहयोग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन्। उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको पनि बताइन्।
निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसको कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको बताइन्छ। सरकारी तथ्यांकअनुसार २८ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन्।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको छ।