नवलपुर, माघ २४ । गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी तेस्रो गैँडाकोट महोत्सवको दशौँ दिन अर्थात् आज शुक्रबार गायक तथा मोडल दुर्गेश थापाले सांगितिक प्रस्तुती दिएका छन्। ‘कि दुर्गेश रेलमा, कि दुर्गेश जेलमा’, ‘हामी पनि नाच्नुपर्छ बिच्चबीचमा’, ‘ह्याप्पी तिहार’, रमेशराज भट्टराईको ‘बेहुला बनाउँछु भन्थी’लगायतका चर्चित गीत गाएर उपस्थित दर्शकलाई छमछमी नचाए।
दर्शकसँगै उनी आफैँ पनि गीत गाउँदै नाच्दै गरेर थप मनोरञ्जन प्रदान गरे। लामो समयदेखि लोकदोहोरीसँगै आधुनिक गीतको मोडलिङमा स्थापित भएका बागलुङ्गे कलाकार थापा पछिल्लो समय फरक खालका गीतसंगीतमार्फत चर्चा र विवादमा आउने गरेका छन्। दुर्गेशसँगै लोक तथा दोहोरी गायिका दुर्गा सापकोटा, लोक तथा दोहोरी गायक ढाकाराम पौडेल, हाँस्यकलाकार दिनेश काफ्ले, सरिता प्रजापति, सपना रोकालगायत स्थानीय कलाकारहरूले समेत प्रस्तुती दिएका छन्।
माघ २६ गतेसम्म चल्ने महोत्सवमा दर्शकको उपस्थिति गराउन हरेक दिन रसियन कलाकारहरूको नृत्य देखाउने गरिएको छ। शुक्रबार मात्रै करिब २५ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका आयोजकले दाबी गरेको छ। महोत्सवमा थारु, गुरूङ, थकाली, मगर, भुजेल, चेपाङ, दरैलगायत आदिवासी जातजातिका मौलिक सांस्कृतिक घरले पनि आकर्षण बढाएको आयोजक संस्था उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए।
महोत्सवमा ३५० भन्दा बढी स्टलसहित माघ १५ गतेबाट सुरू भएको महोत्सवबाट कम्तिमा ४० करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको छ।