कञ्चनपुर, माघ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन्।
भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको शनिबानर अनुगमन गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्।
‘तीनवटै सरकारका साझेदारीमा पुनः सञ्चालन हुन्छ,’ मन्त्री भट्टराईले भने, ‘यसका निम्ति प्रक्रिया अघि बढाउँछौँ। २०५१ सालमा यहाँबाट विमान चढेर काठमाडौँ गएको सम्झना अझै छ।’
उनले अनुगमनका क्रममा विमानस्थलको क्षेत्रफल र विस्तार गर्नुपर्ने अन्य क्षेत्रका साथै समग्र विषयमा जानकारी लिएका छन्। उक्त अवसरमा मन्त्रालयको प्राविधिक टोली र जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो।
विमानस्थलमा ५० सिटको जहाज सञ्चालन गर्न समस्या नरहेको बताइएको छ।