काठमाण्डौँ, माघ २५ । विश्वकप छनौटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ। नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको हो।
नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले शानदार अर्धशतक प्रहार गरे। कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु खेलमै अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन्। ५१ बल खेलेका उनले ५० रन बनाए । उनी कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
यसअघि सो कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा थियो। पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए। मल्लले भने १५ वर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन्।
७९ बल खेलेका विनोद भण्डारीले ५९ रनको अर्धशतकीय पारी खेले। पूर्वकप्तान पारस खड्काले १९ तथा कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए। करन केसी १२, सुवास खकुरेल ३ तथा आरिफ सेख २ रन बनाएर आउट भए। दिपेन्द्रसिंह ऐरी शून्य रनमै आउट भए।
शुसान भारीले ११ तथा अभिनास बोहराले पाँच रन बनाए।