चितवन, माघ २५ । कारागार कार्यालय चितवनमा रहेका कैदी तथा बन्दीले रङ्गशाला निर्माणका लागि रु एक लाख ११ हजार १११ सहयोग गरेका छन्। कैदीबन्दीले जिल्ला प्रशासन कार्यालयमार्फत भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सो रकम सहयोग गरेका हुन्।
रङ्गशाला निर्माणका लागि जारी महायज्ञमा सो रकम प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको हो। कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार रङ्गशाला निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कैदीबन्दीले सिदाको रकमबाट बचाएर रङ्गशालालाई सहयोग गरेका हुन्। अहिले कारागारमा ५४ महिला, चार आश्रित बालबालिका र ६७३ जना पुरुष रहेका छन्। तीमध्ये महिला, बिरामी र अशक्त कैदीबन्दीबाहेक अन्यले सो रकम सङ्कलन गरी रङ्गशाला निर्माणका लागि सहयोग गरेको काफ्लेले बताए।
धुर्मुश सुन्तली फाउन्डेशनको अगुवाइमा निर्माण भइरहेको रङ्गशाला निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यले माघ १९ गतेदेखि महायज्ञ शुरु गरिएको छ। करीब रु दुई अर्ब ५० करोडको लागतमा निर्माण गर्न लागिएको सो रङ्गशालाका लागि हालसम्म महायज्ञबाट रु १५ करोड बढि आर्थिक सङ्कलन भएको छ। रासस