माघ २५ । विश्वको सर्वाधिक लोकप्रिय भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबको एक वर्षको आम्दानी नेपालको वार्षिक बजेटभन्दा पनि धेरै भएको छ। पछिल्लो रिपोर्ट अनुसार युट्युबले सन् २०१९ मा १५ अर्ब डलर आम्दानी गरेको छ।
गुगलको मातृ कम्पनी अल्फाबेटले सार्वजनिक गरेको सन् २०१९ को चौथो त्रैमासिकको रिपोर्टले यस्तो देखाएको हो। सुन्दर पिचाई गुगलको प्रमुखबाट अल्फाबेट कम्पनीको प्रमुख भएपश्चात् पहिलोपटक सार्वजनिक भएको उक्त रिपोर्टमा पहिलोपटक युट्युबको छुट्टै आम्दानीसमेत देखाइएको हो।
सन् २०१९ को चौथो त्रैमासिकको रिपोर्ट अनुसार सन् २०१९ मा युट्युबबाट गुगलले समग्रमा १५ अर्ब १५ करोड डलर रकम आम्दानी गर्न सफल भएको छ। त्यसमध्ये ४ अर्ब ७२ करोड डलर रकम चौथो त्रैमासिकमा मात्र गरेको आम्दानी हो। गत वर्ष सन् २०१८ मा युट्युबबाट ११ अर्ब १५ करोड डलर आम्दानी भएको थियो।
युट्युबबाट भएको आम्दानी सन् २०१९ मा गुगलले गरेको कूल आम्दानीको १० प्रतिशत रकम हो।
रिपोर्ट अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा युट्युबको विज्ञापनबाट हुने आम्दानीमा ३६ प्रतिशतले वृद्धि भएको छ। हाल युट्युब म्युजिक र युट्युब प्रिमियमका सशुल्क सब्सक्राइबरको संख्या २ करोड पुगेको छ। त्यस्तै, युट्युब टिभीका सशुल्क सब्सक्राइबरको संख्या २० लाख रहेको छ। युट्युबले यस्ता सशुल्क सब्सक्राइबरलगायतका गैर विज्ञापनिक क्षेत्रबाट कूल ३ अर्ब डलर आम्दानी गरेको छ।
रिपोर्ट अनुसार, सन् २०१९ मा गुगलले कूल १ खर्ब ६१ अर्ब ८५ करोड डलर आम्दानी गरेको छ। त्यसमध्ये गुगल सर्चबाट भएको आम्दानी ९८ अर्ब ११ करोड डलर रहेको छ। त्यस्तै गुगल क्लाउडबाट सन् २०१९ मा ८ अर्ब ९१ करोड डलर आम्दानी गरेको छ।
एजेन्सीको सहयोगमा