काठमाडौं, माघ २६ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित तीन एआईजी र १७ डीआईजी ३० वर्षे सेवाअवधिका कारण मंगलबार रातिबाट अवकाश पाउँदै छन्।
खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातले अवकाश पाउन लागेका हुन्। अवकाश पाएसँगै मंगलबार नेपाल प्रहरीले २७औं प्रहरी प्रमुखका रुपमा नयाँ आईजीपी पाउनेछ । नयाँ आईजीपी डीआईजीमध्येबाटै हुनेछ। आईजीपीको प्रतिस्पर्धामा डीआईजी ठाकुर ज्ञवाली र तारणी लम्साल छन्।
उनीहरू दुवै २०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। अन्य डीआईजी भए पनि सबै जुनियर ब्याचका भएकाले दुईमध्ये एकजना आईजी हुने पक्का छ। गृह स्रोतका अनुसार ज्ञवाली नै भावी आईजीपी बन्ने निश्चितप्रायः छ। यसका लागि प्रधानमन्त्री, गृहमन्त्री दुवै सकारात्मक भएको बताइएको छ।
गृहका एक उच्च अधिकारीले भने, ‘‘ज्ञवाली नै भावी आईजीपी बन्ने निश्चित छ। आवश्यक प्रक्रिया सुरु भइसकेको छ। सम्भवतः भोलि (सोमबार) कै मन्त्रिपरिषद् बैठकबाट निर्णय हुन्छ होला।’’ ३० वर्षे सेवाहदका कारण ज्ञवालीको कार्यकाल पनि ५ महिनाको मात्रै हुनेछ। ज्ञवाली हाल प्रदेश नम्बर १ का प्रहरी प्रमुख छन्।
तर बिदा लिएर ज्ञवाली र लम्साल दुवै काठमाडौंमै छन्। ज्ञवाली र लम्साल दुवै व्यावसायिक र विवादरहित प्रहरी अधिकृत मानिन्छन्। कार्यसम्पादन मूल्यांकनमा ज्ञवाली लम्सालभन्दा अघि छन्। प्रहरी नियमावलीमा आईजीपीको नियुक्ति गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकन (कासमु) लाई आधार मान्नुपर्छ।
प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षक (एआईजी) हरूबाट गर्नुपर्ने उल्लेख छ। तर एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाटै आईजीपी नियुक्ति गर्न सकिनेछ।
डीआईजीबाटै आईजीपी नियुक्त गर्दा डीआईजीमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन/परिचालन गर्नसक्ने हुनुपर्ने विषयलाई आधार मानिएको छ। यी सबै कुरा भएको अवस्थामा सरकारले उपयुक्त उम्मेदवारलाई आईजीपी बनाउन सक्छ। सरकारले प्रायः प्रहरी प्रमुख आफूअनुकुल व्यक्तिलाई बनाउँदै आएका छन्।
ज्ञवाली आईजीपी भएको अवस्थामा लम्साल एक नम्बर एआईजी हुने सम्भावना बढी छ। प्रहरीमा तीन एआईजी रहने व्यवस्था छ। तीन एआईजीका लागि लम्सालसँगै डीआईजी सूर्य उपाध्याय, शैलेश थापा, हरि पाल, प्रद्युम्न कार्की, नीरज शाही र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा हुनेछ।
एआईजी बढुवामा भने समय लाग्ने सम्भावना बढी छ। पछिल्लो समय डीआईजीबाटै एआईजी बनाउनुपर्ने अवस्था रहदै आए पनि २८औं आईजीपी भने एआईजीबाटै हुनेछ। त्यसैले एआईजीमा पर्न सबैले दौडधूप तीव्र बनाएका छन्।
डीआईजीका लागि पनि प्रतिस्पर्धा
वर्तमान आईजीपी खनालका ब्याजी (डीआईजी) हरू मनोज न्यौपाने, शेरबहादुर बस्नेत, केदार रिजाल, पूर्णचन्द्र जोशी, कमल जीटी, दानसिंह बोहरा, नारायणसिंह खड्का, हरिभक्त प्रजापति, रामप्रसाद श्रेष्ठ, पीताम्बर अधिकारी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, दीपक थापा, सुरज केसी, दिनेश अमात्य, सुरेशविक्रम शाह, महेन्द्र पोखरेल पनि २८ माघमै अवकाश पाउनेछन्।