काठमाडौं, माघ २६ । मदिरा सेवन गरेर हो-हल्ला गर्ने एक समूहले सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण गरी असई सन्तोषकुमार झालाई घाइते बनाएका छन्। टाउको र अनुहारमा गम्भीर चोट लागेका झालाई उपचारका लागि शनिबार नेपाल प्रहरी अस्पताल ल्याइएको छ।
शुक्रबार मध्यराति मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८ स्थित तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा आक्रमण भएको हो। प्रहरी चौकीनजिकै एउटा मदिरा पसलमा हो-हल्ला गरिरहेको बेला प्रहरी पुगेको थियो। प्रहरीले सोमबहादुर तामाङलाई पक्राउ गर्यो।
यसपछि आक्रासित १०/१५ जनाको समूह प्रहरीलाई पछ्याउँदै आएर चौकीमै आक्रमण गरेको हो। चौकीमै आएर आक्रमण गर्दा पनि प्रहरीले भने जवाफी कारबाही गरेन।
‘आक्रमणकारीमध्ये तामाङ नियन्त्रणमै छन्,’ सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले भने, ‘अन्य को-को थिए भन्ने खुलिसकेको छ। पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ।’
यो घटना भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा प्रहरी खटाइएको छ। शनिबार दिनभर टोलीले ‘सर्च’ गरेको थियो।
महर्जनका अनुसार हवल्दार हरिबहादुर मगर सामान्य घाइते छन्।
घटनाको छानबिन गरी प्रहरीबाट के कस्तो कमजोरी भएको हो प्रतिवेदन बुझाउन घिमिरे नेतृत्वलाई नै जिम्मा दिइएको छ।