काठमाण्डौं, माघ २६ । कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीमा नेपालले ओमानलाई २५० रनको चुनौती दिएको छ।
कीर्तिपुर मैदानमा जारी एक दिवसीय सिरिजमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो। ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले। ६९ बलमा एक छक्का र ६ चौका सहित ५३ रन बनाए।
एक दिवसीय क्रिकेट (ओडीआई) मा ज्ञानेन्द्रको यो दोस्रो अर्धशतक हो। यसअघि १ अगष्ट २०१८ मा नेदरल्याण्ड विरुद्ध ज्ञानेन्द्रले अर्धशतक गरेका थिए। तर, कप्तान भएपछि भने पहिलो पटक अर्धशतक गरेका हुन्।
पूर्वकप्तान पारस खड्काले एक छक्का र चार चौका सहित ३८ रन जोडे भने बिनोद भण्डारीले ३५ रन जोडे। आरिफ शेख र कुशल मल्लले २८–२८ रन जोडे। करण केसी १० रनमा आउट भए भने सन्दीप लामिछाने १० रनमा अविजित रहे।
विकेटको क्षतिमा नेपालले २४९ रन जोड्दा कमलसिंह ऐरी ९ रनमा अविजित रहे। नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्।
ओमानका लागि खवार अलीले ४ विकेट लिए भने मोहम्मद नादिमले तीन विकेट लिए। नादिमकै बलमा नेपालका विनोद भण्डारी रनआउट भएका थिए।