विराटनगर, माघ २६ । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ। पाँचौँ अर्थात् हिउँदे अधिवेशनको यो दोस्रौ बैठक हो। हिउँदे अधिवेशन यही माघ २३ गतेदेखि शुरु भएको हो।
बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि आफ्नो स्थानमा नबसेपछि सचेतक सूर्यमाराज राईलाई बोल्न समय दिएपछि उहाँले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतालाई रक्षा गर्नुपर्ने धारणा राखे।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने काम गलत भएको आरोप लगाउँदै कारवाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्ने घोषणा गरे। बैठक सोमबार २ः०० बजे अपराह्न बस्ने सभामुख भण्डारीले जानकारी दिए।
बैठकको आजको सूचिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेश हुने कार्यक्रम तय भएको थियो।
विरोध सभा
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई कारवाही गर्न गरेको सिफारिसको काँग्रेस विराटनगर महानगरपालिका समितिले विरोध जनाएको छ। समितिले विराटनगरको शनिहाटबाट विरोध र्याली निकाली स्थानीय हनुमान मन्दिर नजिककै कोणसभाको आयोजना गरेको थियो। रासस