माघ २७ । बंगलादेश यू १९ क्रिकेट टोलीले पहिलो पटक यू १९ विश्वकप उपाधि जितेको छ। दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेश नयाँ च्याम्पियन बनेको हो।
वर्षाले प्रभावित खेलमा बंगलाद्शले साविक विजेता समेत रहेको भारतलाई डकवर्थ लेविस (डिएल) मेथ ८ को आधारमा ३ विकेटले पराजित गरेको हो।
भारतले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४१ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो। जसको कारण डिएल मेथडमा बंगलादेशले जितको लागि ४६ ओभरमा १ सय ७० रन बनाए। सोही लक्ष्य बंगलादेशले ४२.१ ओभरमै ७ विकेट गुमाएर भेट्टायो र उपाधि जित्यो।
बंगलादेशको जितमा कप्तान तथा विकेटकिपर अकवर अलीले अविजित ४३ रनको कपतानी इनिङ्स खेले। उनले ७७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ओपनर परवेज हुसेन इमोनले ७९ बलमा ७ चौकाको मद्दतमा ४७ रन बनाए।
भारतका स्पीनर रवि बिस्नोईले १० ओभरमा ३ मेडन राखेर ३० रन खर्चिदै ४ विकेट लिए। यस्तै सुशान्त मिश्राले २ र यजस्वी जैसवालले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४७.२ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो। भारतका लागि ओपनर यजस्वी जैसवालले सर्वाधिक ८८ रन बनाए। उनले १२१ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे। यस्तै तिलक बर्माले ३८ र धुब्र जुरेलले २२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। भारतले अन्तिम २१ रन जोड्दा ७ विकेट गुमाएको थियो।
भारती इनिङ्स ध्वस्त पार्न बंगलादेशका लागि अभिषेक दासले ९ ओभरमा ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै शोरिफुल इस्लाम र तन्जिन हसन शकिबले २/२ विकेट लिए।