काठमाण्डौं, माघ २७ । पूर्व सचिव अर्जुन कार्कीको घरमा राखिएका कमदार मृत अवस्थामा फेला परेका छन्। सोही स्थानमा उनकी श्रीमती मुना कार्की घाइते भेटिएकी छन्।
महानगरी प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले घटनाको पुष्टि गर्दै अचेत अवस्थामा रक्ताम्मे रहेकी मुनालाई उपचारका लागि नजिकैको स्टार अस्पताल लगिएको बताए। उनले आफू घटनास्थलमा रहेको बताउँदै मृतकको नाम, थर र ठेगाना खुलिनसकेको बताए।
“एक जनाको शव फेला परेको छ। एक जना घाइते छन्” एसएसपी राईले भने, “हामी घटनास्थलमा छौं, थप अनुसन्धान भइरहेको छ।”
पुरुष कामदारको शव झुण्डिएको अवस्थामा भेटिएको हो। घटनाको अनुसन्धान गरिरहेका परिसरका डीएसपी सन्तोष तामाङका अनुसार, कार्कीको श्रीमती मुना भान्सा कोठामा लडिरहेकी भेटिएकी थिइन्।
“प्लास्टिकको पिर्का टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ, बाँकी केही खुल्न सकेको छैन”, डीएसपी तामाङले भने।