चितवन, माघ २७ । पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी श्रेष्ठ अस्वस्थ भएकी छिन्। छाती दुख्ने, निद्रा नलाग्ने हुँदै श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई माघ २४ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको छ।
श्रेष्ठको हेरचाह गर्दै आएका टङ्कनाथ पौडेलका अनुसार श्रेष्ठलाई समस्या देखिएपछि अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपाने र डाक्टर शीतल अधिकारीको निगरानीमा उपचार शुरु गरिएको छ। उनी अस्वस्थ भएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशाङ्क कोइराला, नेता प्रकाशमान सिंह, गगनकुमार थापालगायतले भेटी स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएकाछन्।
एकानब्बे वर्षीया श्रेष्ठ गोर्खा क्षेत्र नम्बर २ बाट विसं २०४८ मा निर्वाचित भएकी थिइन्। त्यसपछि उनी राष्ट्रियसभा सदस्यमा मनोनीतसमेत भएकी थिइन। काँग्रेस केन्द्रीय कार्यालय, चितवनस्थित जिल्ला कार्यालय, भरतपुर महानगरपालिका–१ को कार्यालयसँगै मैयादेवी कन्या कलेज, नेपाल प्रेस युनियन चितवन, ओम शान्तिलगायत सङ्घसंस्थालाई उनले जग्गा दान गरेकी थिइन्। पौडेलका अनुसार श्रेष्ठले दान गर्नुभएको सम्पत्तिको अहिलेको मूल्य रु एक अर्ब हाराहारी हुन आउँछ। रासस