चितवन, माघ २८ । माघ २४ गतेबाट चितवनको नारायणगढस्थित पुरानो तरकारी बजारमा भएको ‘पाँचौँ प्रभु पे क्यान इन्फोटेक–२०२०’ (सूचना प्रदर्शनी) मंगलबार सकिएको छ। कम्प्युटर एसोसियसन (क्यान) महासंघ चितवनले आयोजना गरेको प्रदर्शनीको मंगलबार भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले समापन गरेकी हुन्। प्रदर्शनीमा ८० हजारभन्दा बढीले अवलोकन गरेका आयोजकले दाबी गरेको छ।
‘चितवनको समृद्धि, सूचना प्रविधि’ भन्ने मूल नारासहित सञ्चालन भएको प्रदर्शनीमा रोबोटबीचको फुटबल प्रतियोगिता, साइबर सुरक्षा र सूचना प्रविधिसम्बन्धी अन्तरक्रिया, डिजिटल नेपाल प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगितासहित सूचना प्रविधिसम्बन्धी विभिन्न खालका गोष्ठी तथा सेमिनार सञ्चालन गरेको थियो। मेलाबाट नयाँ पुस्तामा बढ्दो सूचना प्रविधिसम्बन्धी जानकारीसँगै जनचेतना फैलाउने काम भएको अध्यक्ष सन्तोषजनक भुसालले बताए।