तनहुँ, माघ २८ । १०८ फिट अग्लो व्यासमूर्ति निर्माणका लागि तनहुँको दमौलीमा तीन करोड ५० लाख रूपैयाँ संकलन गरिएको छ। जनस्तरबाट रकम सङ्कलन गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट उक्त रकम संकलन गरिएको हो। व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट सुरु भएको महायज्ञबाट सोचेअनुसारको आर्थिक संकलन भएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए।
व्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउने उद्देश्यले सो मूर्ति बनाउन खोजिएको हो कोषले जनाएको छ। मूर्ति बनाउन आवश्यक पर्ने तामाका लागि स्थानीयवासीको घर–घरमा पुग्ने अभियान सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। ‘पुराना तामाका सामग्री सङ्कलन गर्न घरदैलो अभियान सञ्चालन गरिनेछ, इट्टा व्यवसायी, ढुङ्गा व्यवसायीसँग पनि निर्माण सामग्री सहयोग माग गर्ने योजना रहेको छ,’ उनले भने।
महायज्ञको आज मंगलबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले समापन गरेका हुन्। मन्त्री लम्सालले मूर्ति निर्माणका लागि प्रदेश सरकारको तर्फबाट पनि बजेट विनियोजन गर्ने विश्वास दिलाए। व्यासमूर्ति निर्माणका लागि बनाइएको गुरुयोजनाअनुसार सबै संरचना बनाउन ६४ करोड रूपैयाँ खर्च लाग्ने अनुमान छ। मूर्ति निर्माणको थालनी वि.सं. २०६८ देखि नै भएको हो।
मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न त्यतिखेरै पनि महायज्ञ आयोजना गरेर करिब ७० लाख रूपैयाँ सङ्कलन गरिएको थियो। उक्त रकममध्ये १० लाख रूपैयाँको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ। बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ।
डिपिआर मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ रूपैयाँ खर्च लाग्ने अनुमान छ। अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ रूपैयाँ लाग्ने अनुमान गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए। निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्तिहरु, व्यासका अनुयायीहरुको पाँच साना प्रतिमाहरु र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ। यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ। – रासस